जिल्ला अस्पतालमै सुत्केरी भएकी महिलाको ‘उपचार नपाउँदा’ मृत्यु

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 103 पटक पढिएको
  • प्रदेश दर्पण

नुवाकोट । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरालाई जन्म दिएकी थिइन् । सुत्केरीपश्चात अत्याधिक रक्तश्रावको कारण बिहीबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले जानकारी दिए ।

बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्याधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको त्रिवि शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए । नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि काठमाडौं पठाएको छ ।

बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरी कक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदा समेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए ।

‘सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन्,’ उनले भने, ‘चिकित्सकको बेवास्ता र सुत्केरी कक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।’

चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाएकी वस्तीको शव काठमाडौंबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट ल्याएर विरोधस्वरूप त्रिशूली अस्पतालमा राखिएको छ ।

सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारबाही हुनुपर्ने भन्दै आफन्तहरू अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौं लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत् अस्पताल पु¥याउन ढिलाइ भएको थियो ।

समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौँस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस