पाकिस्तानी सेनाको विमान बस्तीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

  • प्रकाशित मितिः श्रावण 14, 2076
  • 52 पटक पढिएको
  • प्रदेश दर्पण

पाकिस्तानमा सेनाको विमान बस्तीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ।त्यहाँका अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाको एउटा सानो विमान मंगलबार बिहान रावलपिन्डीनजिकै आवासीय क्षेत्रमा खसेको हो।

दुर्घटनामा विमानका चालक दलका ५ सदस्य र १२ सर्वसाधारण मानिसको मृत्यु भएको छ भने अरू १२ जना घाइते भएको बीबीसीले जनाएको छ।पाकिस्तानी सेनाकाे विमान तालिमका लागि उडाइएको थियो। तर अचानक खसेपछि विमानमा आगो लागेको र केही घरहरूमा फैलिएको थियो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ। दुर्घटनाको कारण खुल्न बाँकी छ। शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।

एक स्थानीय व्यक्तिका अनुसार घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ।

प्रतिक्रिया दिनुहोस