१४० सैन्य टोलीहरूलाई पछी पार्दै नेपाली सेनाले रच्याे इतिहास , जित्यो स्वर्णपदक

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • 592 पटक पढिएको
  • प्रदेश दर्पण

बेलायतमा भएको विश्वस्तरीय सैन्य अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक जितेको छ। युद्धकालीन विशेष परिस्थिति हरूको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने अभ्यासमा नेपाली सेनाले स्वर्णपदक जितेको हो।

जंगी अड्डाका अनुसार संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट भएको ‘एक्सरसाइज क्याम्ब्रिएन प्याट्रोल २०१९’मा नेपाली सेनाका मेजर अशिम देव गुरुङसहितको १० जनाको सैनिक टोली गएको थियो।

कठिन भौगोलिक इलाकामा सञ्चालन भएको सो अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्छन्।

यस क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता लगायत दक्षताको परीक्षण गरिन्छ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो। उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौज बाहिनी, पशुपति प्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए।

उक्त प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गर्छ।

प्रतिक्रिया दिनुहोस