गृहमन्त्रालय भित्रैका अधिकृत मृगाैला तस्करीका नाइके , यसरी खुल्याे रहस्य

  • प्रकाशित मितिः आश्विन 30, 2076
  • 55 पटक पढिएको
  • प्रदेश दर्पण

मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत, ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सोही अस्पतालका कानुन अधिकृत, चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेका छन्।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र आले, मृगौला प्रत्यारोपण गर्ने निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा। राजेश पन्त र लामा छन् ।

दुवै मृगौला फेल भएपछि लामाका आफन्तले काभ्रेका ३७ वर्षीय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मृगौला किनेका थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा शाखा अधिकृत रहेका बेला आलेले मृगौला प्रत्यारोपण अनुमति दिने समितिमा रहेर स्वीकृतीको हस्ताक्षर गरेका थिए । तीन महिनाअघिको यो घटनाबारे ब्युरोले दसैंअघि अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी स्रोतका अनुसार अधिकृत आले बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेका अधिकृत आले घटनाको केही समयपछि मात्रै गृहमन्त्री थापाको सचिवालयमा काज सरुवा भएका थिए ।

गृहमन्त्रीको निजी सचिवालयमा एक उपसचिवसहित दुई अधिकृत छन् । आलेले मृगौला प्रत्यारोपण स्वीकृति समितिमा रहेर काम गर्दा आर्थिक लाभ लिए कि लिएनन् भन्ने खुलिनसकेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

मृगौला फेर्नैपर्ने भएपछि लामाको परिवारले रामेछापको दोरम्बा–३ को वडा कार्यालयबाट भान्जाले मृगौला दिने भन्दै नाता प्रमाणितको सिफारिस ल्याएको थियो ।

सिफारिसपत्रमा सक्कली भान्जाकै नाम र फोटो टाँसिएको थियो । उक्त पत्रलाई निदान अस्पतालका डा। पन्त, प्रमुख कार्यकारी अधिकृत प्रधान, कानुन अधिकृत भट्टराई र जिप्रका ललितपुरका अधिकृत आलेसहितको प्रत्यारोपण स्वीकृति समितिले प्रमाणीकरण गर्दै प्रत्यारोपणको अनुमति दिएको थियो ।

कानुनले के भन्छ?
मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०५८ को अनुसूची ११ मा सम्बन्धित अस्पतालले मृगौला प्रत्यारोपण आवश्यक पर्ने भन्दै सिफारिस गरेपछि एकाघरका परिवार वा नजिकको नातेदारबाट मृगौला लिन कागजी प्रक्रिया अगाडि बढाउने व्यवस्था छ।

यस्तो सिफारिसपछि मृगौला दान दिने एकाघरका सदस्य वा नजिकका नातेदारले अनुसूची १३ अनुसार मन्जुरीनामाको कागज गर्नुपर्छ । यस्तो मन्जुरीनामामा दाताको तस्बिर र तीनपुस्ते विवरण खुलाइएको हुन्छ।

मन्जुरीनामापछि सम्बन्धित वडा कार्यालयले गरिदिएको नाता प्रमाणितलाई अस्पताल र जिल्ला प्रशासन कार्यालयका अधिकृतसहितको टोलीले प्रमाणीकरण गरेपछि मात्रै प्रत्यारोपणको काम अगाडि बढाइन्छ।

प्रतिक्रिया दिनुहोस