महँगियो मेडिकल शिक्षा : एमबिबिएस पढ्न ४४ लाख, बिडिएसका लागि २० लाख

  • प्रकाशित मितिः कार्तिक 2, 2076
  • 55 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं /चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिक सत्र २०७६–७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि नयाँ शुल्क निर्धारण गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपत्यकाभित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । नयाँ शैक्षित्र सत्रदेखि अब एमबिबिएस तह अध्ययन गर्न करीब रु दुई लाख र बिडिएसमा तहमा करीब रु एक लाख शुल्क वृद्धि भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फिर्तिका आधारमा नयाँ शुल्क कायम गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा आयोगले चिकित्सा शिक्षा ऐनको दफा १८ (ख) अनुसार विद्यार्थीबाट लिइने एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रुपमा किस्ताबन्दीमा लिइने जनाएको छ ।

सोही दफाको (ग) मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख भए बमोजिम एक तिहाइ हुन आउने रकम काठमाडौं उपत्यकाभित्र रु १३ लाख ४१ हजार र उपत्यका बाहिर रु १४ लाख ७८ लाख ६७५ हुनेछ । ऐनको अनुसार आगामी वर्ष २०७७(७८ का लागि सिट संख्या र शुल्क निर्धारण गर्न आयोगले विज्ञ समावेश भएको कार्यदल गठन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस