अष्ट्रेलियाको सिड्नी पुगेका पर्यटनमन्त्री भट्टराइकाे कार्यक्रममा अवराेध

  • प्रकाशित मितिः पुष 22, 2076
  • 247 पटक पढिएको
  • प्रदेश दर्पण

सिड्नी । अष्ट्रेलिया आइपुगेका नेपालका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी र्‍यालीमा सिड्नीको सुरक्षाकर्मीले अवरोध पुर्याएका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारको लागि सिड्नी आइपुगेका मन्त्री भट्टराई सहभागी र्‍यालीको आयोजकले स्थानीय निकायसँग अनुमति नै नलिएको कारण सिड्नीको सुरक्षाकर्मीले अवरोध पुर्याएका हुन् ।

सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने भन्दै सरकारले नेपालमा तामझामको साथ भ्रमण वर्षको सुरुवाता गरको केहीदिनपछि मन्त्री भट्टराई अष्ट्रेलिया आइपुगेका हुन् । मंगलबार भएको र्‍यालीको नेतृत्व मन्त्री भट्टराईले गरेका थिए । उनीसँगै अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका नेपालका कन्सुलर दीपक खड्का र भिक्टोरियाका कन्सुलर चन्द्र योन्जोन पनि सहभागी थिए ।

न्यू साउथ वेल्स (एनएसडब्लु) प्रहरीले उक्त र्याली गर्नको लागि अनुमति नलिइएको, सिड्नीमा नेपालको प्रचार गरेर व्यापार गर्न खोजेको भन्दै अवरोध पुर्याएको हो । त्यस्तै, र्‍यालीको कारण पैदल यात्रुलाई नै असर गरेको थियो । 

उक्त अनुमति लिने काम एनआरएनए अष्ट्रेलियाका पूर्व कोषध्यक्ष दीला खरेललाई दिएको भए पनि उनले उक्त काम पूरा नगर्दा मन्त्री सहभागी कार्यक्रम नै प्रभावित बनेको हो । तर, खरेलले भने र्‍याली निकाल्ने योजना पछि मात्रै बनेको बताएका छन् ।कार्यक्रम अनुसार उक्त र्याली ओपेरा हाउस जाने कार्यक्रम थियो । तर, स्थानीय प्रशासनले ओपेरा हाउस भने जान दिएन । 

त्यस्तै, अष्ट्रेलियामा लागेको डढेलोको कारण पूरै अष्ट्रेलिया शोकमा डुबेको बेला यस्तो र्याली तथा प्रवद्धर्नात्मक कार्यक्रमको आयोजना हुनु ठिक नभएको केही नेपालीहरुले समेत बताएका छन् । भ्रमण वर्षको प्रचार गर्नु आवश्यक रहे पनि एनएसडब्लु डढेलोले आक्रान्त बनिरहेको बेला र्‍याली नै गर्ने काम ठिन नभएको कतिपय नेपालीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस