प्रसवपीडा र रगतका टाटाहरू ----

  • प्रकाशित मितिः फाल्गुन 29, 2076
  • 178 पटक पढिएको
  • प्रदेश दर्पण

 उठ्नु छ स्वाभिमानी भई दुई ढुङ्गाबीच पीपल बनेर
उदयको किरणसँगै झुल्केका
यी चन्द्रसूर्यले पछारेथे बैरीका हुल ।
तर, भूत र भविष्यले तर्साउँछ अचेल
 
शरीरमाथि धावा बोल्ने छिमेकीले लुछेको त्यो बालापन
घाइते बनाएरै अहिलेसम्म उठ्न सक्दिनँ अनि प्रसवका पीडाहरूमा गरेको प्रहार ।
 
स्वार्थमा यो शरीर ठेल्दासम्म स्वतन्त्रताको अधिकार कहलिन्छ
उसकै कहिले गिद्दले शिरमा ठुङ्छ कहिले अस्तित्वमा खुम्च्याउँछ
अझै बलजफ्ती हातखुट्टै भाँच्न खोज्छ कहिले थाकेपछि घुमाएर भाग्छ
छिर्के हानिरहन्छ बारबार स्वतन्त्र हुन पाएकै छैन
कहिले नाकै थुनिदिन्छ कहिले मुखमा पुल्ठो झोस्छ ।
 
सातौं सन्तान जब गर्भमा थियो भाइभाइ सङ्ग्राम जुधे काटाकाट
र मारामारले डुबाएथे रगतमा लामो व्यथा,सकस
खुबै पीडा सहेकी छु धमिला नयन अनि
चित्कारले टालिएका यी कान सातौं सन्तानको जन्मसँगै
 
पुर्खाको नासो सबैमा बाँडेछन् सबैको खुब भरोसा छ
यसमा यसले पनि खुब प्रेमले हेर्दैछ सबैमा
त्यसैले यसको स्याहार र संरक्षणमा चनाखा छन् सबै एकै भएका छन्
चाहना र सपना सबैका शिशुले पयर उचालेपछि ।
 
सुस्ताउँदा, सपनीमा गएको भुईँचालो अब रोक्नुछ
सबै मिली बिपनीमा हराएका बाटाहरू पहिल्याउनु छ यो बिहानीमा
बाकसमा फर्किने वीरबहादुरहरू नुनतेल किन्न,
रेगिस्तान नगई उद्यम गर्नेछन्
 
कुमारीहरूलाई जिउँदो लास हैन
अग्नि र लक्षमणरेखा मेटेर इज्जत गर्नेछन्
सबै मिलेर अाश्वासनका कहानी हैन
अखण्ड एकता र स्वाभिमान फर्फराउने छन्विश्वमा ।
अँहँ भुल्ने छैन इतिहास बनाउने रगतका टाटाहरू,
अनि भर्नु छ खुसीहरू सन्तानका मुहारमा
अनि स्वाभिमानले भुल्नु छ प्रसवका वेदनाहरू ।

प्रतिक्रिया दिनुहोस