प्रम ओलीलाइ सच्चिन आग्रह गर्दै अनेरास्ववियु सुनसरीले बुझायो ज्ञापन पत्र

  • प्रकाशित मितिः पुष 24, 2077
  • 121 पटक पढिएको
  • प्रदेश दर्पण

सुनसरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुनसरी जिल्ला कमिटीले संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र पठाएको छ । अनेरास्ववियू जिल्ला कमिटीले सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पाेखरेललाई विरोधपत्र बुझाएको हो ।

पत्रमा अनेरास्ववियू जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई उहाँले चालेको असंवैधानिक कदमका निम्ति पश्चतापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सुचारु गर्न अनुरोध गरेको छ ।

पत्रमा लेखिएको छ, ‘तपाइँलाई राम्रोसँग थाहा छ, संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार दिएको छैन । तथापी संविधानको धारा पुन अध्ययन गर्न समेत हार्दिक आग्रह गर्दछौँ ।’

पत्रमार्फत अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको ऐतिहासिक, राजनैतिक परिवर्तन, संघिय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको रक्षा गर्न र वर्तमान असंवैधानिक तथा सबै प्रकारका प्रतिगामी षड्यन्त्रलाई असफल पार्न जस्तोसुकै संघर्ष पनि गर्ने चेतावनी समेत दिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । सरकारको यस कदमको विरोधमा अनेरास्ववियूले देशैभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।

patra

प्रतिक्रिया दिनुहोस