खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी : खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण

  • प्रकाशित मितिः श्रावण 27, 2075
  • 175 पटक पढिएको
  • इटहरी दर्पण

इटहरी ।वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । 

यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो ।त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् ।

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।गल्फ कोअपरेसन काउन्सिल (जिसिसी)ले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन (गाम्का) खारेजीको घोषणा गरेको थियो ।

खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस