चार दिनदेखि उडान नहुँदा लुक्लामा दुई सय यात्रु अलपत्र

  • प्रकाशित मितिः असार 3, 2076
  • 86 पटक पढिएको
  • प्रदेश दर्पण

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन्।मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए।

बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन्। सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन।

उडान प्रभावित हुँदा स्वदेशी तथा विदेशी गरेर दुई सय यात्रु लुक्लामै बस्न बाध्य भएका छन्। खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो।केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने करिब २ सय यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन्।

सल्लेरीदेखि खुम्बूपासाङल्हामु गाउँपालिका–१ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ । तर खरिखोलासम्म पुग्नका लागि माप्यदूधकोशी २ र माप्यदूधकोशी १ जोड्ने दूधकोशी नदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क हुन सकेको छैन।

हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि करीब एक महीनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो।आगामी वर्ष खुम्बूपासाङल्हामु गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले जोड्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए।

शेर्पाका अनुसार प्रदेश र सङ्घीय सरकारबाट समेत यस क्षेत्रको सडक विस्तारलाई ध्यान दिने प्रतिबद्धता प्राप्त भएको छ।गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पु¥याउन सकेको खण्डमा खुम्बू क्षेत्र आउने पर्यटकले अहिले भोग्दै आएको समस्याको अन्त्य हुने शेर्पाले बताए।

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखि पर्यटकले समस्या झेल्दै आएका छन्।लुक्लामै यात्रु रोकिएपछि स्थानीय होटलमा चहलपहल बढेको छ । पर्यटकीय ‘सिजन’ सकिएसँगै यस क्षेत्रका होटल व्यवसायीसमेत बाहिर जाने गर्छन्।यस क्षेत्रको लागि आम्दानीको मुख्य स्रोत नै पर्यटन भएकाले होटल व्यवसायी सिजन सकिएपछि घुम्नका लागि काठमाडौँलगायतका क्षेत्रमा निस्कने गरेका छन्।

प्रतिक्रिया दिनुहोस